महिला एक दिवसीय विश्व कप क्रिकेट प्रतियोगिता हाल इङ्गल्याण्डमा जारी छ। यसै मेसोमा सम्वाददाता आदेशकुमार गुप्ताले महिला एक दिवसीय क्रिकेटबारे कम थाहा भएका रोचक ९ तथ्य पस्किएका छन्:
1. पहिलो महिला विश्व कप क्रिकेट प्रतियोगिता पहिलो पुरुष विश्व कप क्रिकेट प्रतियोगिताभन्दा दुई वर्ष पहिले नै खेलाइएको थियो। उक्त प्रतियोगिता सन् १९७३ मा इङ्गल्याण्डमा भएको थियो। पुरुष विश्व कप क्रिकेट भने इङ्गल्याण्डमै सन् १९७५ मा शुरु भयो।
2. सन् १९७३ को प्रतियोगितामा नक आउट राउण्ड थिएन। घरेलु टोली इङ्गल्याण्डले अंकको आधारमा प्रतियोगिता जितेको थियो। उसले ६ मध्ये ५ खेल जितेको थियो। सो प्रतियोगितामा भारत सहभागी थिएन।
3. महिला विश्व कप क्रिकेटको दोस्रो प्रतियोगिता भारतमा भएको थियो। जबकि भारतले पुरुष विश्व कप प्रतियोगिता भने पहिलोपटक सन् १९८७ मा मात्र आयोजन गर्यो।
4. सन् १९८२ को विश्व कप फाइनल खेलको अम्पायर डिकी बर्ड थिए। पुरुष तथा महिला विश्व कप फाइनल दुवै खेलमा अम्पायर बन्ने सौभाग्य प्राप्त उनी पहिलो अम्पायर हुन्।
5. अष्ट्रेलियाकी बेलिण्डा क्लार्क एक म्याचमा सबभन्दा धेरै व्यक्तिगत स्कोर बनाउने खेलाडी हुन्। उनले भारतमा भएको सन् १९९७ को विश्व कप प्रतियोगिताको एक खेलमा डेनमार्क विरुद्ध अविजित २२९ रन बनाइन्।
6. पुरुष एक दिवसीय प्रतियोगितामा कुनै खेलाडीले दोहोरो शतक बनाउने किर्तिमान खडा गर्नुभन्दा निकै पहिले बेलिण्डा क्लार्कले दोहोरो शतक बनाउने महिला खेलाडीको किर्तिमान बनाइसकेकी थिइन्। पुरुष एक दिवसीय प्रतियोगितामा दोहोरो शतक बनाउने पहिलो खेलाडी सचिन तेन्दुलकर हुन्। उनले सन् २०१० मा दक्षिण अफ्रिका विरुद्ध अविजित २०० रन बनाएका थिए।
7. कुनै एक दिवसीय प्रतियोगितामा सबभन्दा धेरै रन स्कोर बनाएको किर्तिमान अष्ट्रेलियाको खातामा छ। उसले सन् १९९७ मा डेनमार्क विरुद्ध भएको खेलमा तीन विकेट गुमाएर ४१२ रन बनाएको थियो।
8. महिला विश्व कप प्रतियोगिताको खेलमा सबभन्दा कम स्कोर बनाएको किर्तिमान चाहिं पाकिस्तानको छ। सन् १९९७ कै एक खेलमा उसले अष्ट्रेलिया विरुद्ध केवल २७ रन बनाएको थियो।
9. अष्ट्रेलियाले ६ वटा विश्व कप उपाधि जितिसकेको छ। इङ्गल्याण्डले ३ अनि न्यूजील्याण्डले १ पटक सो उपाधि जितेका छन्।
स्रोत: http://www.bbc.com/nepali/news-40401462
Collected by SilentCSanj
Comments
Post a Comment