-भानुभक्त
‘तपाईंलाई बधाई दिन फोन गरेको।’
व्यक्तिगत फोनमै कहिलेकाहीँ हेलो सरकारका गुनासा पनि सुन्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले सामान्य उत्तर दिए– धन्यवाद।
अनि हत्तपत्त सोधे– के भयो र?
‘एउटा अध्ययनले नेपाल सरकार ट्वीटरमा जनतालाई ‘रेस्पोन्स गर्ने’मा विश्वमै दोस्रो भएछ।’
‘ए हो र मलाई त थाहै थिएन’, उनी एकछिन रोकिए र फेरि सोधे– तपार्इँले साँच्चै भन्नुभएको कि मजाक गर्नु भएको?
‘नपत्याए लिंक खोलेर हेर्नुस्’ मैले यति भनेपछि उनी आश्वस्त भए।
ट्वीप्लोमेसी भन्ने संस्थाले गरेको अध्ययनले संसारमा ट्वीटमार्फत जनताले सोधेका प्रश्न र उनीहरुका गुनासामा जवाफ र प्रतिक्रिया दिनमा नेपाल सरकार दोस्रो भएको देखाएको छ। नेपाल सरकारले डेढ दुई वर्षदेखि हेलो सरकार भन्ने ह्यान्डलमार्फत् जनताका गुनासा र प्रश्नको जवाफ दिँदै आएको छ।
उक्त अन्तर्राष्ट्रिय अध्ययनमा नेदरल्यान्ड पहिलो स्थानमा छ भने
नेपालपछि अफ्रिकी मुलुक रुवान्डाका राष्ट्रपति छन्। चौथो स्थानमा नर्वेकी प्रधानमन्त्री इर्ना सोल्बर्ग रहेकी छन्।
उपाध्यायलाई जस्तै धेरैलाई यो अध्ययनको रिपोर्ट पत्याउन गाह्रो भएको छ। यसको कारण, हेलो सरकारले जवाफ दिँदैन भनेर होइन, उसले दिने जवाफ प्रायः गम्भीर हुँदैन र समस्या सुनुवाइ भए पनि समाधान हुँदैन भनेर हो। अझ कतिपय अवस्थामा त हेलो सरकारका जवाफ हाँसोका विषय बन्छन्। धेरै समय गुनासो गर्नेले चलानी नम्बरमै चित्त बुझाउनुपर्छ।
उदाहरणका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाँदा सरकारले विदा दिने निर्णय गरेको थियो। धेरैले आफू पनि विदेश जाँदैछु विदा हुन्छ कि हुँदैन भनेर सोधेका थिए। यस्ता हल्का टिप्पणीमा हेलो सरकारजस्तो आधिकारिक निकायले प्रतिक्रिया दिइरहनु जरुरी नै थिएन। जबकि, हेलो सरकारको ट्विटर ह्यान्डलबाट ‘तपाईं राष्ट्रपति र आफूलाई एउटै दर्जाको ठान्नुहुन्छ?’
त्यस्तै, अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जित्छन् कि हिलारी क्लिनटने भनेर पनि हेलो सरकारलाई सोधिएको थियो। हेलो सरकारले जवाफ फर्कायो, ‘जसले बढी मत ल्याउँछ उसैले जित्छ।’
यति मात्र होइन, हेलो सरकारले दिने जवाफ र टिप्पणी अत्यन्तै हल्का र हाँसोपूर्ण भएको भन्दै सामाजिक सञ्जालमा बेलाबेला आलोचनासमेत हुने गरेको छ।
हेलो सरकारको अवधारणा आफैंमा सकारात्मक हो। जनताले आफूले भोगेका समस्या र सरकारसँग सोध्न चाहेका प्रश्न यो ह्यान्डलमार्फत् सोझै राख्न सक्छन्। आधुनिक प्रविधिले दिएको यो सुविधा अपनाएर जनतासँग प्रत्यक्ष अन्तक्र्रिया गर्न खोज्नु सरकारको राम्रो कदम हो। उक्त अन्तर्राष्ट्रिय अध्ययनले पनि यसको निम्ति नेपाल सरकारको तारिफ गरेको छ। तर, यही सुविधाबाट जनताले भोगेका समस्या र प्रश्न सुल्झाउन सकिनेमा हल्काफुल्का टिप्पणी गरेर हेलो सरकारले आफ्नो वजन घटाइरहेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुने गरेको छ।
आखिर किन यस्तो हुन्छ त?
उपसचिव उपाध्यायले यसो हुनुका धेरै कारण रहेको बताए।
‘पहिलो कुरा त हामीले सम्बन्धित मन्त्रालयलाई गुनासो पठाइदिन्छौं तर उनीहरुले त्यसबारे के भएको छ जवाफ पठाउँदैनन्’, उपाध्यायले भने, ‘जवाफ सोध्ने अधिकार पनि हामीसँग नभएको होइन, तर जनशक्ति अभावले हरेक गुनासोबारे अपडेट लिन भ्याउँदैनौं।’
२०६८ कात्तिकमा सुरु भएको हेलो सरकार कक्षमा १६ जना कर्मचारी छन्। तीमध्ये ४ जनाले ट्विटरमा आएका गुनासाको जवाफ दिन्छन्। दुई जनाले फेसबुकका गुनासाको अध्ययन गर्छन्। अरुले फोन इमेल र फ्याक्सबाट आउने गुनासोको जवाफ दिन्छन्।
उनले आफूहरुले पठाएको गुनासो सम्बन्धित निकायले गम्भीरतासाथ नलिने भएकाले पनि सम्बोधन नहुने समस्या रहेको बताए। उपाध्यायका अनुसार सहरी विकास मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र र अर्थ मन्त्रालयले धेरै गुनासोका जवाफ पठाउँछन्। विश्वविद्यालय लगायत थुप्रै निकायले समस्या समाधान भयो भने जवाफ पठाउँछन् नत्र वास्तै गर्दैनन्।
हेलो सरकारमा आउने गुनासा मौसमी हुन्छन्। जे कुराले जनताको दैनिकीमा असर पारेको छ, तिनै कुरा उनीहरुले ट्विटरमा हेलो सरकारलाई ‘मेन्सन’ गरेर पठाइदिन्छन्। राष्ट्रपति विदेश जाँदा किन विदा दिएकोदेखि सचेतना कार्यक्रम ल्याउनुको साटो जेब्राक्रसमा बाटो काट्ने यात्रुलाई किन २ सय जरिवाना तिराएको सम्मका गुनासा आउँछन्।
सबैभन्दा धेरै गुनासा ट्विटरबाट आउँछन्। ‘करिब ६० प्रतिशतभन्दा बढी गुनासा ट्विटरबाट आउँछन्,’ उपाध्यायले भने, ‘१४० अक्षरको सीमा भएकाले हामीलाई पनि गुनासो बुझ्न र जवाफ दिन सजिलो हुन्छ।’
अर्को कुरा गुनासा कति जायज हुन् र कस्तो समस्याको समाधान कुन कानुनअनुसार हुन्छ भन्ने हेक्का कक्षका कर्मचारीलाई त्यति हुँदैन। ‘हाम्रा सबै साथीहरुलाई कानुनको पनि ज्ञान छैन, प्रविधिमा पनि पछाडि नै छौं,’ उपाध्यायले भने, ‘त्यही भएर कुनै मन्त्रालय वा विभागसँग सम्बन्धित जस्तो लागे सोही मन्त्रालयमा पठाइदिन्छौं।’
हेलो सरकार दुई सिफ्टमा सञ्चालन हुन्छ। बिहान सात बजे आउनेहरु २ बजेसम्म बस्छन्। २ बजे आएकाहरु राति ९ बजेसम्म गुनासो सुन्छन्।
‘यहाँ आउने कर्मचारीलाई कुनै तालिमको व्यवस्था छैन, अझ सामाजिक सञ्जाल कसरी चलाउने भन्ने त ठूलो कुरा हो कुन बेला कसलाई कसलाई के जवाफ दिने भन्ने कुराले धेरै अर्थ राख्ने रैछ,’ उपाध्यायले भने, ‘हामीले भाषामा विज्ञता नभएकाले अंग्रेजीमा गुनासो गर्नेहरुलाई उपयुक्त जवाफ दिन सक्दैनौं।’
सिंहदरबारभित्र फेसबुक चलाउन सरकारले निषेध गरेको छ। हेलो सरकार कक्षले अर्को लाइन ल्याएर फेसबुक चलाइरहको छ। ‘कति बेला त हाम्रो सर्भरले काम गर्दैन, तत्काल जवाफ दिनुपर्ने गुनासाका त्यत्तिकै थन्केर बस्छन्’, उपाध्यायले भने।
अनि कहिलेकाहिँ पढ्दै हाँसो उठ्ने र गैरजिम्मेवार देखिन जवाफचाहिँ किन पठाउनु हुन्छ नि?
प्रश्न सुनेर उनी बेस्सरी हाँसे। ‘कहिलेकाहीँ त्यस्तो हुँदो रहेछ। सिरियस गुनासाको जवाफ पठाउँदा पठाउँदै साथीहरुले के सोचेर कहिलेकाहीँ फन्नी कुरा पनि लेखिदिनुहुन्छ,’ उपाध्यायले भने, ‘कतिपय त त्यस्तै फन्नी गुनासो लेखेर पठाउँछन्, तिनलाई त्यस्तै जवाफ सुहाउँछ।’
कुन गुनासोको के जवाफ पठाउनेबारे ट्विटर चलाइरहेकाले नै तत्काल निर्णय गर्ने अधिकार उनले दिएका छन्। ‘सरकारी ह्यान्डल भएकाले गैरजिम्मेवारपूर्ण कुरा नलेख्नु होला भन्छु तर अलिकति फन्नी हुँदा त खासै केही फरक पर्दैन,’ उनले भने, ‘५०/६० ट्विटमा १/२ वटा ट्विटमात्र त्यस्ता फन्नी हुन्छन्।’
पहिला पहिला सबै गुनासाको जवाफ पठाउने गरे पनि अब छाँटकाँट गरेर मात्र जवाफ पठाउन थालेको उनले बताए। ‘अब त हामीलाई थाहा भइसक्यो ट्विटरमा को को मान्छेले हामीले कस्ता कस्ता गुनासा गर्छन् भनेर,’ उनले भने, ‘सुरुमा यसरी जवाफ दिने ठाउँमा नबसेकाले अप्ठेरो लागेको थियो, अचेल त सामान्य लाग्छ।’
हेलो सरकारले नागरिकका गुनासामा चलानी काट्नेबाहेक अरु के गर्छ र भन्नेसँग भने उपाध्याय सहमत छैनन्। ‘धेरैका गुनासा सम्बोधन भएका छैनन्, हामीले अझ राम्रो गर्न सक्थ्यौं तर अहिले पनि हामीले दुई कुरामा सफलता पाएका छौं’, उनले भने, ‘पहिलो, कुरा जनतामा चुप लागेर बस्न हुन्न, गुनासो गर्नुपर्छ भन्ने चेतना बढेको छ। दोस्रो, हामीले मन्त्रालय र निकायलाई यति धेरै गुनासा पठाइदिएका छौं, उनीहरुलाई जवाफ नदिए पनि हाम्रो कामले जनता सन्तुष्ट छैनन् भन्ने चेत खुलेको छ।’
त्यही भएर पनि अध्ययनले आफूलाई दोस्रो स्थानमा राख्नु आनन्दको कुरा भएको उनले बताए।
‘हामीले केही काम गरेका छैनौं कि जस्तो लागेको थियो’, उपाध्यायले भने, ‘संसारमै दोस्रो भयौं भनेको सुन्दा कामको मूल्यांकन भएजस्तो लागेको छ।’
बिहीबार दिउँसो हामी पुग्दा हेलो सरकार कक्ष रहेको कोठामा केही कामदार वाइरिङ गर्न लागेका थिए। सामानहरु असरल्ल थिए।
‘यस्तो अस्तव्यस्त अवस्थामा बसेर पनि हामीले संसारका विकसित देशका सरकारले भन्दा बढी जनताका गुनासाको जवाफ दिन्छौं भन्दा को खुसी नहोला,’ उनले भने।
स्रोत: http://m.setopati.com/samaj/70905/
Comments
Post a Comment