Skip to main content

हातले नभेट्ने गोडाको उचाइ

आन्तरिक राजस्व विभागको छैटौँ तलाको एउटा कोठा । हेर्दा कुनै लाइब्रेरीझैँ देखिन्छ । र्याकमा किताब होइन, विभागका फाइल सजिएका छन् । छेउमा कुर्सी–टेबुल छन्, उत्रै उचाइका । टेबुलमा कम्प्युटर छ भने कुर्सीमा ‘सुब्बा साहेब’ सुशीला ढकाल ।
सुशीला बिस्तारै माउस घुमाउँछिन् । बूढीऔँलाले किबोर्ड थिच्छिन् । तर, यो सबैकोझैँ हातले होइन । कमाल देखाउँछिन् गोडाले । कुनै रहर या गिनिज बुकमा नाम लेखाउने ‘प्राक्टिस’ पनि होइन । यो त सुशीलाको दैनिक मजबुरी हो । कारण, उनका दुवै हात छैनन् । तर, हात नभएर के भो त, गोडा नै काफी छन्, उनलाई कम्प्युटरमा दुनियाँ खोज्न ।
दुई हात र दुई गोडा छन् जसका, तर निराश छन् जीवनप्रति । यस्ता सबैका लागि आशाकी दियो हुन्, सुशीला । स–साना अप्ठ्यारा ठूला–ठूला सफलताका बाधक देख्नेहरूका लागि साहसका प्रतिमूर्ति हुन्, सुशीला । उनलाई देख्दा यस्तो लाग्छ, गोडाले पनि दिमाग उतार्न सक्छ ।
०००
धपक्क बलेको उनको अनुहारमा पश्चातापको धब्बा देखिँदैन । बरु, उत्साहको छाल भेटिन्छ । उनलाई भेट्दा एकसाथ सयौँ प्रश्न जन्मिन्छन्, सोध्नका लागि । मैले एउटा प्रश्न थुतेँ दिमागबाट ।
मेरो प्रश्न– दुई हात नहुनु नै तपाईंको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो किझैँ पो लाग्यो ?
सोचाइमा डुबिन्, थोरैबेर । जवाफ फर्काइन्, ‘हो, मेरा हात भएका भए केही काम त गर्न सक्थेँ हुँला । तर, यत्रो चर्चा पक्कै पाउँदैनथेँ । मबाट इन्स्पायर भएर थुप्रैले आत्महत्यालाई त्यागिदिएका छन् । शारीरिक रूपमा कमजोर छु भन्नेहरूलाई हौसला मिलेको छ । हात नभए पनि जीवनमा आत्मविश्वासका साथ काम गर्दा थुप्रै अवसर पाएको छु ।’
दोस्रो प्रश्न– हात नहुँदा जीवनमा थुप्रै अवरोधहरू पनि निम्तिए होला नि ?
सुशीलाको जवाफ– शतप्रतिशत असहमत । ओहो ! कत्रो तागत ? म जिल खाएँ । हात नहुनुलाई जीवनको असफलतासँग दाँज्नै चाहन्नन्, उनी ।
‘ड्युटी आवर’ थियो । आन्तरिक राजस्व विभागको फाँट शाखामा चल्दै छ, यो गफगाफ । चर्को गर्मी पाखा लगाउन जुरुक्क उठ्छिन् । गोडा उचाल्छिन् र पंखा चलाउँछिन् । कुर्सीमा बस्न नपाउँदै चिया आइपुग्छ । एक–अर्कासँग अनुमति माग्छौँ, चिया पिउने । तर, म रोकिएँ । चियाको कप हातमा ‘होल्ड’ भयो । कारण, सुशीलाको गोडाले चिया कप उठाउँदै गर्दा मेरा आँखा र मन रोकिन बाध्य भए । उनी चिया पिउँछिन्, म त हेरेको हेरै । एक चुस्की लिएर चियाको कप व्यवस्थित तरिकाले टेबलमा राख्छिन् । बल्ल मैले कप मुखमा जोडेँ ।
तत्काल, मोबाइलको घन्टी बज्यो । मेरो होइन, सुशीलाको । फेरि गोडा लम्काइन् र बूढीऔँलाले ‘रिसिभ’ गरिन् । अनि माझी र बूढीऔँलाको सहाराले टपक्क टिपेर कानसम्म पुर्याइन् । म हेरिरहेछु, एकतमास । कुममा मोबाइल अड्याएर बोल्न थालिन्, मीठो मुस्कान छर्दै ।
म त प्रश्नको चाङ बोकेरै गएको थिएँ । फेरि सोधेँ– कपडा पनि आफैँ लगाउनुहुन्छ ? मेरो प्रश्न फुत्किन नपाउँदै छेवैमा रहेकी अर्की कर्मचारी रोकिन सकिनन्, ‘उहाँले त गाजल पनि आफैँ लगाउनुहुन्छ ।’
अनि, मेकअप पनि ? फेरि प्रश्न गरेँ ।
अब सुशीला नै बोलिन्, ‘हो, खुट्टाले नै लगाउँछु । कपाल पनि आफैँ कोर्छु । अनि, यो कुर्ता आफैँ लगाएर आएकी हुँ । सुरुवाल कम्मरसम्म सार्नचाहिँ अलिक गाह्रो हुन्छ । खाना पनि आफैँ खान्छु । आवश्यक पर्दा खानासमेत पकाइदिन्छु । मलाई जीवनमा कहिल्यै हातको अभाव खड्किएको छैन ।’
सुशीलाको यो जवाफ साँच्चै संसारकै लागि उदाहरणीय लाग्छ । अर्को उदाहरण खोज्न अर्को देश पुग्नुपर्दैन, चर्चित साहित्यकार झमककुमारी घिमिरेसम्म पुग्दा हुन्छ । हो, झमकले जस्तै सुशीलाले पनि गोडाले नै लेख्छिन् । लेखेरै देखाइन् । वा…वा कति राम्रो ‘हेन्डराइटिङ’ !
जब सुशीला जन्मिन् । उनकी आमा संसारकी सबैभन्दा दुःखी थिइन् । सुशीला जन्मेदेखि नै आमाको अनुहारमा बादल छाएको थियो । बादल यति छाएको थियो कि जहिल्यै आँखाबाट आँसु बर्सिन्थ्यो । दाउराजस्ती भएकी थिइन्, उनकी आमा । छिमेकीले भन्थे, ‘कति पीर गरेको, आँसु बगाएरै सकिने भयौ ।’ त्यो वेला आमाले भोगेको जीवन देख्नेहरू अहिले सुनाउँछन्, सुशीलालाई ।
तर, सुशीलालाई जन्मजातै दुवै हात नहुनुको पीडाले कहिल्यै गालेन । सुनाइन्, ‘हाम्रो परिवार ठूलो थियो । स्कुल पनि नजिकै । खेल्नका लागि टाढा जानुपर्थेन । घरवरिपरि नै साथीहरू थिए । उनीहरूसँगै खेल्थेँ । खोइ किन हो, उनीहरूले सहानुभूति देखाउँथे । म कुनै खेलमा कमजोर थिइनँ । गट्टा, चुंगी सबै खेल्थेँ । मलाई हात नहुनुको कुनै आभास नै भएन ।
सुशीला कहानी सुनाउन व्यस्त छिन्, म सुन्न । थपिन्, ‘एक दिन दाइले पढ्दै गरेका वेला कलम लिएर लेख्न खोजेँ । दाइले ओहो ! लेख्न पनि सक्छे कि क्या हो भन्दै स्कुल भर्ना गरिदिनुभयो । अनि स्कुल जान थालेँ । त्यतिवेला, म बुझ्ने भइसकेको थिएँ । सधँै मलिन हुने आमाको अनुहार, मेरो यो कदम देखेर केही बौरिएको पाएँ ।
१० कक्षासम्म सरासर पुगिन्, सुशीला । स्कुलबाट घर पुग्दा आमालाई आफ्नो साथमा पाउँथिन् । विगत सम्झिन्छिन्, ‘आमा जहाँ भए पनि म स्कुलबाट फर्किने वेला जहिल्यै घरमै आएर खाजा तयार पारिदिनुहुन्थ्यो ।’
परिवार शिक्षित हुनुले पनि सुशीलाको जीवनमा सकारात्मक पाटा धेरै मिले । परिवारले सधैँ उनलाई हौसला दिइरह्यो । सुशीला अलिकति भावुक बन्छिन्, ‘परिवारले नै घरबाट बाहिर निकालिदिएको भए, कहाँ यहाँसम्म आइपुग्थेँ र ?’
०३९ मा जन्मिएकी सुशीलाले ०५६ मा एसएलसी दिइन् । तर, एकपटक फेल भइन् । यसको पनि कारण कोट्याउँदै सुनाइन्, ‘चकटीमा बसेर एसएलसी दिइरहँदा मलाई हेर्न आउनेको भीड हुन्थ्यो । मानाैँ, त्यहाँ एसएलसी परीक्षा चलिरहेको छैन, कुनै मेला लागेको छ । मलाई असर गरिरहेको थियो । प्रतिफल रिजल्टमा प्राप्त भयो ।’ यति मात्रै कहाँ हो र ! एसएलसी फेल हुनुको कथा अझै लामो रहेछ । उनी विगतको दुःखमा फर्किन्, ‘हात नभएकै कारण मेरा शिक्षक र दाइहरूले १५ मिनेट समय बढाइदिन आग्रह गर्नुभयो । तर, सुपरिटेन्डेन्टले मानेनन् । लामो माथापच्चीपछि छुट्टै बसेर एसएलसी दिने वातावरण त बन्यो, तर समय थपिएन । त्यो वर्ष फेल भएँ । यहाँनेरचाहिँ विभेदको महसुस भएकै हो ।’
स्याङ्जा पुतलीबजार हो सुशीलाको घर । उनले एसएलसीमा पीडा भोगेपछि अपांगता भएकाहरूलाई थप समय छुट्याउनुपर्ने भन्दै पछि आन्दोलन नै भयो । केही एनजिओहरूले पनि अभियानमा सहयोग गरे । सुशीला भन्छिन्, ‘अर्को वर्षदेखि परीक्षामा समय थप गर्ने व्यवस्था स्थापित भयो ।’
एसएलसी सकेपछि उनी स्याङ्जाकै त्रिभुवन आदर्श उच्च माविमा पढ्न थालिन् । उनको सहयोगका लागि बहिनी पनि सँगै आएकी थिइन् । त्यही समय उनी मूलधारको पत्रिकामा छापिइन् । पत्रिकामा छापिएपछि काठमाडौंको सूर्योदय होस्टेलकी विष्णु थापाले उनलाई यतै ल्याएर पढाइन् । त्यसको एक वर्षमै कम्प्युटर पनि सिक्न थालिसकेकी थिइन् । डिल्लीजार बहुमुखी क्याम्पसबाट ‘पोलिटिकल साइन्स’मा आइए पनि पास गरिन् । त्यसपछि उनले नेपाल मानवअधिकार अपांगता केन्द्रमा जागिर थालिन् । उनको मनमा एउटा सोचचाहिँ आइरहन्थ्यो रे, अपांगहरूका लागि केही गर्नैपर्छ । जागिरसँगै उनले ब्याचलर पनि सकाइन्, समाजशास्त्रमा । उनको पढाइमा कहिल्यै ‘ब्रेक’ लागेन । अन्ततः मास्टर्स पनि सकाइन् । मास्टर्स गर्ने वेला भने उनीसँग जागिर थिएन । दिमागमा नानाथरी कुरा खेले । अपांगताको क्षेत्रमा काम गर्ने भन्दै संस्था दर्ता पनि गरिन् । तर, उनको बाटो निजामतीतिर मोडियो । यो भयो कसरी ? मैले जिज्ञासा राखेँ ।
‘०६५ मा समावेशीको कोटा आयो । एकपटक प्रयास गर्ने आँट गरेँ । ट्युसन पढेँ । अधिकृतको परीक्षा दिएँ । मेरो लेखाइ अर्का एकजनाले हेरेका रहेछन् । परीक्षा सकेर हलबाट निस्किनेबित्तिकै उनले ‘तपाईंले नाम निकाल्नुहुन्छ’ भनेका थिए । मलाई उत्साहित बनाएको थियो,’ सुशीलाले घटना सुनाइन्, ‘तर, रिजल्टमा नाम निस्किएन ।’ एकपटकको असफलतामा उनले हरेस खाइनन् । फेरि नायव सुब्बाको परीक्षा दिइन् । अनि, उनी बनिन्, सुब्बा ।
अब, सुशीलाको कथा मात्रै होइन, आमाको कथा पनि बदलियो । ‘मलाई भेटेपछि आमा भक्कानिएर रुनुभयो, अँगालोमा । यति धेरै रुनुभयो कि सायद कहिल्यै रुनुपर्दैन जस्तोगरी,’ खुसी हुँदै सुशीलाले आमाको खुसी व्यक्त गरिन् ।
आठ वर्षदेखि आन्तरिक राजस्व विभागमा छिन्, सुशीला । अहिले बिल र फाइल मिलाउने गर्छिन् । पहिले–पहिले अन्य शाखामा काम गर्दा, सेवाग्राहीले झ्यालबाट हेर्थे र अचम्म मान्दै सोध्थे रे, ‘सर हुनुहुन्न ?’ सुशीलाले प्रतिप्रश्न गर्थिन् रे, ‘काम भन्नुस् न के पर्यो ?’ अनि फटाफट काम सक्काएर पठाइदिन्थिन् । भन्छिन्, ‘मैले एक मिनेट पनि काम अड्काइनँ ।’ तर, कार्यालयमै कतिपयले काममा शंका गर्दाचाहिँ नमिठो लागेछ ।
केही वर्षदेखि सुशीलालाई विभिन्न ‘ओरेन्टेसन’ र ‘मोटिभेसनल’ कक्षा दिन भ्याइनभ्याइ छ । व्यस्त उनले आफूलाई निकै माया गर्ने जीवनसाथी पाएकी छिन्, त्यो पनि लामो प्रेमपछि बिहेमा बदलेकी । करेन्ट लागेर हात गुमाएका थुप्रैलाई उनले जिउन सिकाएकी छिन् । जीवनप्रति कत्ति पनि गुनासो छैन, उनलाई । उनको खुशीयुक्त जीवनशैलीले एउटा उर्दू सायरी सम्झाउँछ, ‘हातको रेखालाई त्यति महत्व नदिनू, भाग्य उसको पनि हुन्छ, जसको हात नै हुँदैन ।’
स्रोत: enayapatrika.com

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

Rural Sociology and Development

Introduction è Study of web of social relation - Sociology è Youngest social science, emerged in 19 th century from Europe to alleviate the then social problems and disorders. è French sociologist August Comte presented sociology as the scientific study of social behavior and relationship in his book 'Positive Philosophy' in 1839 A.D. So he is considered as the father of sociology. Four founding fathers of sociology are August Comte, Emile Durkheim, Herbert Spencer, and Max Weber. è Sociology emerged from Latin word 'Socious' and 'Logos' that means 'study or science of society'. è Emile Durkheim: "Sociology is the study of social facts." è Karl Marx: "In a broader sense, sociology is the study of social functions and social system." Rural Sociology: è The credit of Rural Sociology goes to America. The period from 1820 to 1920 in America is labeled as the age of exploitation. Due to the exploitation of ru...