स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल एसिया बेस्ट एम्प्लोयर ब्रान्ड अवार्ड २०१७ बाट सम्मानित भएको छ । अवार्डको आठौं संस्करण सिंगापुरमा एक कार्यक्रमबीच १ अगस्ट २०१७ मा सम्पन्न गरिएको थियो ।
एम्प्लोयर ब्रान्डिङ इन्स्टिच्युट (ईबीआई), वल्र्ड एचआरडी कंग्रेस र रणनीतिक साझेदारद्वारा हरेक वर्ष प्रदान गरिने यो अवार्ड नेपालका तर्फबाट सिंगापुरको स्ट्यान्डर्ड चार्टर्ड बैंकले ग्रहण गरेको हो । इतिहास र व्यवस्थापनमा स्नात्तकोत्तर गरेका, आठ वर्षभन्दा बढी अनुसन्धानको अनुभव हासिल गरेका एसियाका स्वतन्त्र प्रोफेसनल व्यक्तिको एक समूहले प्रत्येक राष्ट्रमा उत्कृष्ट रोजगारदाताका सम्बन्धमा बेग्लाबेग्लै अनुसन्धान गरेका थिए । सोही अध्ययनउपर निर्णायक मण्डलका वरिष्ठ नेता, अनुसन्धानकर्ता र विज्ञहरूले गरेको निर्णयले बैंकले उक्त सम्मान पाएको हो ।
विजेताहरूको छनोट एचआरमा ती संस्थाहरूले अपनाएका रणनीतिक योजना, त्यो योजनाको कार्यान्वयन, व्यवसायीकरण र संस्थाको सुदृढ भविष्यका लागि अपनाइएका नीतिहरूसहितको समग्र दूरदृष्टिलाई आधार बनाइएको थियो । बैंकले यो वर्ष युरोमनिबाट युरोमनि अवार्ड फर एक्सिलेन्स २०१७ र ग्लोबल फाइनान्सबाट बेस्ट डिजिटल बैंक अवार्ड प्राप्त गरिसकेको छ ।
स्रोत: राजधानी दैनिक
Collected by SilentCSanj
Comments
Post a Comment