नेपालमा स्वाइन फ्लुको जोखिम
डा. शेरबहादुर पुन
केही दिन अघि काठमाडौंमा एक महिलालाई स्वाइन फ्लु भएकाले उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरेर उपचार गरिएको थियो । त्यसैताका काठमाडौंका विभिन्न ठाउँबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आधा दर्जन बिरामीमा स्वाइन फ्लु भएको पत्ता लागेको थियो । यसबाट राजधानीमा वर्षे स्वाइन फ्लु देखिन सुरु भएको अनुमान गर्न सकिन्छ । स्वाइन फ्लु जसलाई हामीले ‘एच वान एन वान २००९’ को नामले चिन्छौंंै, यो वर्ष देखा पर्दा यसबारे चर्चा परिचर्चा सुरु भइसकेको छ । स्वाइन फ्लुबारे आममानिसलाई प्रस्ट जानकारी नहुन सक्छ । यो रोग कति जोखिमपूर्ण छ भन्ने विषयमा धेरैले विशेष चासो व्यक्त गर्ने गरेको पाइन्छ ।
स्वाइन फ्लु के हो ?
सन् २००९ को मार्च महिनामा स्वाइन फ्लु पहिलोपल्ट मेक्सिकोमा देखापरेको थियो भने त्यसको अर्को महिना अमेरिकामा देखापरेको थियो । यो इन्फ्लुएन्जा ए अन्तर्गत पर्ने ‘एच वान एन वान’ भाइरस हो । यसको अनुसन्धान गर्दा हालसम्मकै फ्लुभन्दा भिन्न प्रकृतिको भएको पत्ता लागेको थियो । सन् १९१८ मा स्पेनिस फ्लुको नामले परिचित ‘एच वान एन वान’ फ्लु पनि यसै फ्लुको जीनको प्रकृतिसँग मिल्दोजुल्दो भएकाले यसलाई ‘एच वान एन वान २००९’ नाम दिएको थियो । सन् २००९ मा देखिएकाले यो भाइरसको नामको पछाडि २००९ जोडिएको हो । हाल नेपालमा स्वाइन फ्लुको क्यालिफोर्निया स्ट्रेंन
देखा पर्दै आएको छ । छिमेकी देश भारतमा पनि अघिल्लो वर्षसम्म यही स्ट्रेंन देखा परे पनि हाल नयाँ स्ट्रेंन ‘मचिगन स्ट्रेंन’ देखा परेको छ । नेपालमा हालसम्म यो स्वाइन फ्लुको नयाँ स्ट्रेंन देखा परे नपरेको सार्वजनिक भइसकेको छैन ।
लक्षण
सामान्यतया यसमा उच्चज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, घाँटी दुख्नु वा खसखस गर्नु, श्वासप्रश्वासमा अवरोध आउनु स्वाइन फ्लुको मुख्य लक्षण हुन् । समयमै पहिचान गर्न नसकी रोग बढ्दै गएमा वा जोखिममा पर्ने व्यक्ति संक्रमित भएमा यसले जटिलता रूप लिन सक्छ र धेरैको कडा खालको निमोनियाका कारण मृत्यु पनि हुन्छ ।
कसरी थाहा पाउने
सामान्य लक्षणहरूकै आधारमा मात्र स्वाइन फ्लु हो भनेर किटान गर्न सकिँदैन । किनभने यी लक्षणहरू अरू सरुवा रोगसँग पनि मिल्दोजुल्दो हुन्छ । यसका लागि पीसीआर नामक प्रविधिद्वारा जाँच गर्न आवश्यक हुन्छ । यसबाट स्वाइन फ्लु, बर्ड फ्लुलगायत छुटाउन सकिन्छ । काठमाडौंमा हाल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य केन्द्रीय प्रयोगशालाले यस्तो सेवा दिइरहेको छ ।
बिरामीमा १०० फरेनहाइटभन्दा बढी ज्वरो, खोकी, श्वासप्रश्वासमा अवरोध आएमा यसको जाँच गरिहाल्नु पर्छ । लक्षणहरू देखिएको पहिलो ३ देखि ५ दिनमा जाँच गर्दा भाइरस पत्ता लाग्ने सम्भावना बढी हुन्छ । यदि कुनै ठाउँमा त्यस समयमा स्वाइन फ्लु देखा परिसकेको अवस्था छ र रुघाखोकी जस्तै लक्षणहरू देखिएमा स्वाइन फ्लु हुनसक्ने सम्भावना बढी हुन्छ । खासगरी विद्यालय, कार्यालय आदि ठाउँमा पनि अरू कसैलाई यस्ता लक्षणहरू भइरहेको हुनसक्छ । यस्तो अवस्थामा यो भाइरस फैलने खतरा हुने भएकाले त्यस्ता ठाउँमा जाँदा सतर्कता अपनाउनुपर्छ ।
के गर्ने के नगर्ने
दुई प्रकारले हामीले स्वाइन फ्लुको प्रसारणलाई रोक्न सक्छौं । पहिलो आफू संक्रमित भएको छैन भने सावधानी अपनाउनुपर्ने हुन्छ । घरबाहिर सार्वजनिक स्थलहरूमा कुनै खास काम नपरी नजाने र जानै परे शंकास्पद संक्रमित व्यक्तिसँग एक मिटरको दूरीमा बस्ने, हात नमिलाउने र घर फर्केपछि राम्रोसँग साबुन पानीले हात सफा गरेपछि मात्र घरका सामान छुने गर्नुपर्छ । संक्रमित भइसकेको अवस्थामा भने सकेसम्म घरमा बसेर स्वास्थ्य लाभ गर्नुपर्छ । घरमा परिवारका अरू सदस्यहरूसँग धेरै नजिक रहुनु हुँदैन । खासगरी वृद्धवृद्धा, बालबालिका, अंग प्रत्यारोपण गरेका, दम भएका बिरामीहरू जोखिममा पर्ने वर्गहरू भएकाले विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ ।
उपचार के हो ?
कडा ज्वरो र श्वासप्रश्वासमा अवरोध छैन भने घरमै बसेर पनि स्वास्थ्य लाभ लिन सकिन्छ । झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । धेरैजसो संक्रमित व्यक्तिहरू सामान्य अवस्थामा हुने भएकाले घरमै आराम गरी पोसिलो खानेकुरा खाएर पनि स्वास्थ्य लाभ लिन सकिन्छ । तर सास फेर्न गाह्रो भएमा, छाती दुखेमा, उच्चज्वरो आउने भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । सामान्य रुघाखोकी लागेमा पनि जोखिम वर्गमा पर्नेहरूले सुरुमै चिकित्सकको निगरानीमा उपचार गर्दा राम्रो हुन्छ । यस्ता जोखिम वर्गका बिरामीमा स्वाइन फ्लु प्रमाणित भएमा एन्टी भाइरल औषधि प्रयोग गर्नुपर्छ । यो नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै बिरामीमा स्वाइन फ्लु प्रमाणित भइसकेको अवस्थामा त्यस बिरामीसँग बसेका जोखिम वर्गका मानिसले सम्भावित संक्रमणबाट बच्न प्रोफिलाक्सिस डोज लिन सकिन्छ र यो संक्रमितसँग रहेको ४८ घण्टाभित्र लिँदा राम्रो हुन्छ ।
यो बाहेक हाम्रो देशमा खासै बहसमा नआउने खोपबारे पनि जान्न जरुरी भइसकेको छ । टेकु अस्पतालले केही समय अगाडिदेखि फ्लु विरुद्धको खोप सेवा ल्याइसकेको छ । खासगरी मिर्गौला डाइलाइसिस गरिरहेको, दमका बिरामी, अंग प्रत्यारोपण गरेका, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूले यस्तो खोप लिँदा फ्लुको जटिलताबाट बच्न धेरै हदसम्म सहयोग गर्छ ।
छिमेकी देश भारतमा नयाँ स्ट्रेंन ‘मचिगन स्ट्रेंन’ देखा परिसकेको र स्वाइन फ्लु द्रुतगतिमा फैलँदै गएको र नेपालमा पनि देखा परिसकेको हुँदा हामीले सजकता अपनाउनुपर्छ । नेपाल सरकारले पनि स्वाइन फ्लुको नयाँ स्ट्रेंन ‘मचिगन स्ट्रेंन’ देखा परिसकेको छ वा छैन, वा भाइरसको जीनमा कुनै परिवर्तन आएको छ छैन भन्नेबारे सूक्ष्म अध्ययन गर्नु आवश्यक छ । किनभने यसैको आधारमा आगामी दिनमा स्वाइन फ्लुको जोखिम मापन गर्न र कस्तो खालको खोप आवश्यक हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । यसमा टेकु अस्पताल, जनस्वास्थ्य केन्द्रीय प्रयोगशाला र इपिडिमियोलोजी महाशाखाको संयुक्त सहकार्य जरुरी हुन्छ । पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।
स्रोत: राजधानी दैनिक
Comments
Post a Comment