सूचनाको हकको प्रभावकारी प्रचलनसँगै लोकतन्त्र संस्थागत हुन्छ । तर आम जनता सधैं लोकतन्त्रकै पहरेदाररूपी सक्रिय सिपाही नहुन सक्छन् । यसैगरी सूचनाको हकले भ्रष्टाचार नियन्त्रण गर्छ । तर पौने ३ करोड नेपाली सबैले ‘कसले कुन बखत भ्रष्टाचार गर्छ र सूचना मागौंला’ भनेर ढुकेर बस्न सक्ने कुरा हुँदैन । यसैगरी सूचनाको हकले सुशासनलाई बढावा दिन्छ । पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता वृद्धि गर्न मद्दत पुग्छ । तर यी विषय सामान्य नागरिकको प्राथमिकताभित्र पर्दैन । दैनिक काम गरेर हात मुख जोर्नुपर्ने नेपालीका लागि सूचनाको हक आकाशको फलझैं हुन सक्छ भन्ने भ्रम पनि हुन सक्छ । यस्तो भ्रमलाई चिर्न सूचनाको हकको प्रयोगबाट सर्वसाधारण नागरिकले हासिल गर्ने असंख्य लाभबारे चर्चा गर्ने जमर्को गर्दै छु ।
यदि तपार्इं बेरोजगारी हुनुहुन्छ र जागिरको खोजीमा हुनुहुन्छ भने जागिर पाउने सशक्त माध्यम सूचनाको हक हुन सक्छ । तपाईं लोकसेवा आयोगलगायतले सञ्चालन गर्ने परीक्षामा सम्मिलित भई उम्दा परीक्षार्थी ठहरिन चाहनुहुन्छ भने सम्बन्धित निकायसँग सूचना माग गर्नुपर्छ । मुलुकमा तयार भएका कैयौं प्रतिवेदन सार्वजनिक भएका छैनन् । केही प्रतिवेदन सार्वजनिक भए पनि आम नागरिकको पहुँचमा छैन । कैयौं सूचना गोप्य नभए तापनि सम्बन्धित निकायले सार्वजनिक गरेको छैन । यसरी आम बजारमा उपलब्ध नभएका एक प्रकारले दुर्लभ सूचना संकलन गरी लोकसेवा आयोगलगायतको परीक्षाको तयारी गरेमा उत्तीर्ण हुने सम्भावना प्रायः पक्का हुन्छ ।
तपाईं स्वरोजगारको सोचमा हुनुहुन्छ भने घरेलु कार्यालय वा घरेलु समिति, सीप विकास तालिम केन्द्र, युवा स्वरोजगार कोषलगायत थुप्रै निकायमा गएर नेपालमा के कस्ता स्वरोजगार आर्थिक रूपमा लाभप्रद छन् भनी सूचना माग गर्न सक्नुहुन्छ । हालसम्म कतिजना नेपालीले केके स्वरोजगार सञ्चालन गरी सफलता हासिल गरेका छन् भनी सूचना प्राप्त गर्न सकिन्छ । कुन व्यक्तिले के वस्तु उत्पादन गरी कति परिमाणका कहाँ बिक्री गरे वा कुन मुलुकमा निर्यात गरे भन्ने सूचना संकलन गर्न सकिन्छ । कैयौं निजी प्रकृतिका देखिने सूचना ती व्यक्ति स्वयं सूचना बाँड्न तत्पर भएको पाइन्छ । सफलताका कैयौं दृष्टान्त र असल अभ्यासको सूचना माग गरी आफू सुहाउँदो स्वरोजगारमा संलग्न हुन सकिन्छ ।
यदि तपार्इं अभिभावक हुनुहुन्छ र आफ्ना छोराछोरीलाई स्कुल वा कलेजमा भर्ना गराउन चाहनुहुन्छ भने सर्वप्रथम तपार्इंले सूचना संकलन गर्नुपर्छ । आÏनो हैसियत र आफ्ना छोराछोरीको शैक्षिक क्षमतासँग मिल्दोजुल्दो शिक्षण संस्थाबाट सूचना संकलन गरी छनोटको अधिकार प्रयोग गर्नुपर्छ । यही सिद्धान्त अस्पताल र चिकित्सकसँगको परीक्षणमा पनि लागू हुन्छ । विभिन्न अस्पताल र नर्सिङ होमबाट समयमै सूचना संकलन गरी राखेमा रोग लागेका बखत उपयुक्त अस्पताल, नर्सिङ होम वा चिकित्सक कहाँ पुग्न सकिन्छ । यदि तपाई विद्यार्थी हुनुहुन्छ भने आÏनो शिक्षण संस्थाले प्रदान गर्ने छात्रवृत्तिबारे सूचना लिई लाभ लिन सक्नुहुन्छ ।
सरकारी वा सामुदायिक स्कुलमा ५ कक्षासम्म निःशुल्क पढाइ हुन्छ । सबै छात्राले वार्षिक ४ सयको छात्रवृत्ति पाउँछन् । जेहेनदार र विपन्न विद्यार्थीका लागि अतिरिक्त छात्रवृत्ति उपलब्ध छ । प्रत्येक सयजनामा १० जना विद्यार्र्थीले छात्रवृत्ति पाउने अनिवार्य सुविधा हो । विद्यार्थीले पाठ्यपुस्तक, स्टेसनरी र अतिरिक्त क्रियाकलापका सामग्री पनि निःशुल्क पाउने व्यवस्था छ । विद्यार्र्थीले परीक्षामा आफूले हासिल गरेको अंक थाहा पाउन आफ्नो उत्तर पुस्तिकाको प्रतिलिपि हासिल गरेर भविष्यमा आÏनो पढाइमा सुधार गर्न सक्छन् । उच्च शिक्षामा पनि एमबीबीएस, एमडी र बीई तथा मास्टर्स गर्न जनजाति, छात्रा, विपन्नलगायतका विद्यार्थीले विशेष कोटा र सुविधा पाउँछन् । यी सबै कुरा बुझ्न, जान्न र लाभ लिन आफ्नो शिक्षण संस्थासँग सूचना माग गर्नुपर्छ । तपार्इं महिला हुनुहुन्छ भने राज्यले तपार्इंलाई दिएको छुट सुविधाबारे जानकारी लिनै पर्छ । महिलाको मासिक आयमा १० प्रतिशत आयकर छुट हुन्छ । १ सय जना कर्मचारीमा ३३ प्रतिशत महिलालाई रोजगारी दिने निजी क्षेत्रले आयकरमा २० प्रतिशत छुट पाउँछ । सार्वजनिक पदमा नियुक्ति गर्दा ४५ प्रतिशत पदमा समावेशी प्रक्रियाबाट नियुक्ति गरिन्छ । जसमा ३३ प्रतिशत अंश महिला उम्मेदवारका लागि छुट्याउनुपर्छ । राष्ट्रपति, उपराष्ट्रपतिलगायतका राज्यका सबै पदमा फरक लिंगको उम्मेदवार खडा गर्नुपर्ने कानुनी व्यवस्था छ । यसैगरी, अपांगता भएका व्यक्तिले पनि अनेकौं छुट सुविधा पाउँछन् । उनीहरूले मोटरसाइकल आयातमा कुनै प्रकारको भन्सार तिर्नुपर्दैन । कान नसुन्ने, आँखा नदेख्नेलगायतको विशेष शिक्षामा राज्यले अतिरिक्त लगानी गरेको छ । अपांगता भएका व्यक्तिका लागि सरकारी कार्यालयमा ह्विल चियर गुड्ने ¥याम र शौचालय तथा लिफ्टको व्यवस्था गर्नुपर्ने हुन्छ । यसरी राज्य प्रणालीका प्रावधानबारे जानकारी लिने व्यक्तिले नै त्यसको लाभ लिन सक्ने हो ।
तपार्इं जेष्ठ नागरिक हुनुहुन्छ अर्थात् ७० वर्ष नाघिसक्नु भएको छ भने सरकारले मासिक भत्ता प्रदान गर्छ । हवाईजहाज र बसमा विशेष सहुलियत पाउनुहुन्छ । सरकारी कार्यालयमा सेवा लिन जाँदा जेष्ठ नागरिक लाइनमा बस्नुपर्दैन । यहीे सिद्धान्त मेला वा चाडपर्वमा भगवान्को प्रार्थनामा जाँदा पनि लागू हुन्छ । जेष्ठ नागरिकका लागि ठाउँठाउँमा वृद्धाश्रम निर्माण भएका छन् । यसैगरी कुनै नागरिकलाई कडा रोग लागेको छ भने सरकारबाट सहयोग पाइन्छ । मिर्गाैला रोगीले निःशुल्क डायलासिस सुविधा पाउँछन् । क्यान्सर, मुटुरोग, अल्जाइमरजस्ता रोगमा २ लाखसम्म नागरिकले औषधि उपचारबापत रकम पाउँछन् । १५ वर्षमुनिका र ७५ वर्षमाथिका नागरिकको मुटु रोगको अप्रेसन निःशुल्क गरिन्छ । ५ वर्षमुनिका बालबालिकाले सबै प्रकारका पोलियो खोप निःशुल्क पाउँछन् । कर्णाली क्षेत्रका, विपन्न वर्ग र दलित वर्गका ५ भन्दा कम उमेरका बालबालिकाले जेष्ठ नागरिकले झंै मासिक २ सय भत्ता पाउँछन् । यस्ता जानकारी प्राप्त गर्ने नागरिकले नै लाभ हासिल गर्ने होे ।
एउटाको नाममा भएको जमिन अर्को व्यक्तिको नाममा हक हस्तान्तरण गर्नुपरे मालपोत कार्यालय जानुपर्छ भन्ने धेरैलाई थाहा छ । तर एउटा जिल्लाको जमिन अर्को बेजिल्लाबाट पनि हक हस्तान्तरण गर्न पाइन्छ । साथै विदेशमा रहेका नेपाली राजदूतावासले पनि यो काम गर्छन् भन्ने कुराको जानकारी धेरैलाई नहुन सक्छ । यसैगरी साविकमा नेपालमा जमिनलाई अब्बल, दोयम, सीम र चाहारमा वर्गीकरण गरिएकामा हाल उपयोगका आधारमा कृषि भूमि, औद्योगिक भूमि भनी जमिनलाई ७ वर्गमा विभक्त गरिएको छ । यसअनुसार नापी भई सबैको लालपूर्जामा यो शीर्षक जनाउन भने बाँकी छ ।
यसैगरी नेपालको भन्सार प्रशासनले विदेशबाट पुराना मोटर, पुराना कम्युटर र पुराना कपडा नेपालभित्र छिर्न दिँदैन । व्यक्तिले आफंैले प्रयोग गरेका वस्तुको कुरा बेग्लै हो । व्यापारिक प्रयोग वा उपहारको प्रयोजनका लागि यी वस्तु नेपाल प्रवेशमा अयोग्य ठहरिन्छन् । नेपाल र भारतबीच भएको व्यापारसन्धिअनुसार नेपालबाट भारत निकासी हुने वस्तुमा कुनै कोटाको सीमा छैन र कुनै भन्सार महसुल पनि लाग्दैन । यही सुविधा नेपालले चीनबाट पनि पाएको छ । तर ती दुवै मुलुकबाट वस्तु नेपालमा आयात हँुदा नेपालमा भन्सार महसुल उठाइन्छ । यति हुँदाहँुदै पनि नेपालमा बर्सेनि करिब ८ खर्बको समान आयात हुन्छ भने नेपालबाट मुिस्कलले ९० अर्बको वस्तु निकासी हुन्छ । यसरी नेपाल ठूलै व्यापार असन्तुलनमा रहेकाले आम नेपालीले उत्पादन वृद्धि गरी निकासी बढाउनुपर्छ । नेपाल सरकारले निकासीकर्तालाई दुई प्रतिशत नगद निकासी अनुदान दिई आएको छ ।
नेपालमा रहेको सगरमाथा, लुम्बिनीलगायतको नाम विश्वमा चलेको सबैलाई जानकारी छ । तर वर्तमानमा केही साहसिक खेलमा नेपाल विश्वमै विख्यात छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । प्याराग्लाइडिङ, बन्जी जम्पिङ, रक क्लाइमिङ, ¥याफ्टिङ र पदयात्राका लागि नेपाल विश्वमै नमुना छ । नेपाली कागजको विश्व बजारमा ठूलो माग छ । यसैगरी नेपाली हस्तकलाका सामग्री पनि विश्व बजारमा हटकेकका रूपमा बिक्री हुने गरेको छ । नेपालको अर्गानिक कफी, चिया र महले पनि विश्वबजार लिएको छ । यी कुराको जानकारी लिई आम युवा यस्ता व्यवसायमा संलग्न भई मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउन सक्षम हुनेछन् । यसर्थ आम नागरिकले आफ्नो सूचना माग्ने र पाउने हकको अधिकार प्रयोग गरी अधिक लाभ लिन सार्वजनिक आह्वान गर्छु ।
कृष्णहरि बाँस्कोटा
स्रोत: राजधानी दैनिक
Comments
Post a Comment