प्रारम्भमा कार्ल माक्र्सलाई अर्थशास्त्रमा त्यति चासो थिएन । उनी दर्शन र राजनीतिमा रमाएका थिए । बेलायतले उनलाई अर्थशास्त्रको क्षेत्रमा प्रवेश गरायो । बेलायत औद्योगीकृत र प्रगतिशील (?) देश थियो । पुँजीवादी अर्थशास्त्रका शिखर–द्वय भनिने एडम स्मिथ र डेविड रिकार्डो त्यहीँ जन्मेका र हुर्केका थिए । ब्रिटिस म्युजियम दस्ताबेजको संगालोको एक अतुलनीय संस्था थियो । माक्र्सले आफ्नो शोधकार्यलाई अघि बढाउन त्यो राम्रो ठाउँ थियो । एउटा कमी थियो, त्यस पुस्तकालयमा मुख्यरुपेण ग्रेट ब्रिटेनका दस्ताबेज थिए । कार्ल माक्र्सलाई त्यतिले पुगेको थियो । उनले पुँजीवादको विकासको ‘सार्वभौम नियम’ खोज्नुपरेको थियो । त्यो जमाना त्यस्तै थियो । अर्थशास्त्र र समाजशास्त्रसमेत भौतिक विज्ञानसँग प्रतिस्पर्धा गर्दै थिए । वैज्ञानिक नियम बेलायत, फ्रान्स वा जर्मनीका निमित्त अलग–अलग हुने कुरा थिएन । कार्ल माक्र्सको यस्तै विश्वास थियो ।
कार्ल माक्र्स लन्डन पुग्नासाथ ब्रिटिस म्युजियम पसेका होइनन् । पहिले उनले लन्डनमा बसेर राजनीतिक गतिविधि गर्न खोजे । तर, त्यहाँ आइपुगेका विभिन्न मुलुकका निर्वासित कार्यकर्ता र नेतासँग कसैसँग पनि उनको कुरा मिलेन । निर्वासित नेताहरू अधिकांश राजनीतिका बारेमा अपरिपक्व धारणा राख्थे । भावुकतामा बग्थे । शासकलाई अपदस्थ गर्न सकेको खण्डमा स्वतः नयाँ व्यवस्थाको सूत्रपात गर्न सकिन्छ भन्ने क्रान्तिकारीहरूको सोचाइ थियो । क्रान्तिकारीहरू राजा वा प्रधानमन्त्रीको हत्या गर्नुलाई राजनीति सम्झिन्थे । हेगेलको विचारधारा यस्तो दृष्टिकोणको कडा विरोधी थियो । हेगेलको प्रभावमा रहेका माक्र्स यस्तो प्रवृत्तिको पक्षमा ज्यादा दिन रहेनन् । माक्र्सको मोह भंग भयो । अहिले माक्र्स मुस्किलले ३३–३४ वर्षका थिए । उनको सिंगो शरीर र मन केही गर्न आतुर थियो । तर, लन्डनको निर्वासित राजनीतिक मण्डलीमा उनी एकाकी हुँदै गएका थिए । तिनताका लन्डनमा इटालीका मेजिनी, रुसका वाकुनिनजस्ता प्रसिद्ध क्रान्तिकारी बसोवास गर्थे । कार्ल माक्र्सले उनीहरूलाई मान्न सकेनन् । तिनीहरूको क्रान्ति चर्चाले माक्र्स विरक्तिए । सुस्तरी माक्र्स एउटा निष्कर्षमा पुगे । क्रान्ति सीमित मान्छेले गर्न सक्दैन । संगठन बनाउनुपर्छ । सार्थक संगठनका निमित्त एक सम्यक विचारधारा चाहिन्छ । राज्य, समाज र सरकारको जटिलतालाई बुझ्दै नबुझी त्यसलाई बदल्छु भन्नु एउटा रोमान्टिक कल्पना मात्र हो । क्रान्ति एक व्यापक र संलिष्ट गतिविधि हो । त्यसका निमित्त व्यक्तिभन्दा वर्गहरूको अवस्थिति र अन्तर्संम्बन्ध बुझ्न सक्नुपर्छ ।
यस्ता वैचारिक मन्थनबीच माक्र्सको आर्थिक अवस्थाको अझै कुनै ठोस बन्दोबस्त थिएन । एंगेल्सका पिता जीवित थिए । एंगेल्स पारिवारिक व्यापारको हर्ताकर्ता भइसकेका थिएनन् । त्यसैले उनले गर्ने सहयोग सीमित थियो । माक्र्सलाई लेख्नेबाहेक अरू काम आउँदैनथ्यो । अमेरिकामा रहेका न्युओर्क ट्रिब्युनल भन्ने पत्रिकाले एउटा प्रस्ताव पठायो । त्यसका संस्थापक–सम्पादकले माक्र्सको बौद्धिक प्रशंसा सुनेका थिए । त्यसैले उनले त्यस पत्रिकामा नियमित लेखेबापत अंकैपिच्छे उचित पारिश्रमिक दिने कुरा गरे । माक्र्सले त्यो प्रस्ताव स्वीकार गरे । माक्र्स र एंगेल्सले त्यस पत्रिकामा खुबै लेखे । तर, त्यस्तो चन्दा–पारिश्रमिकले कहाँ पुग्थ्यो र ? प्रारम्भिक वर्षमा कार्ल माक्र्स र जेनीको लन्डन–प्रवास विपन्नताको कटु अनुभव थियो । दुवैले ती दुर्दिनको चर्चा बारम्बार गरेका छन् । वेलामा घरभाडा तिर्न सक्दैनथे । घरबेटीको अपमान खपिरहनुपथ्र्यो । अपमानका बीच डेरा सर्नु सार्नु सामान्य कुरो थियो ।तर कार्ल माक्र्स कहिल्यै निराश भएनन् । क्रान्तिप्रतिको उनको प्रतिबद्वता झन् कसिँदै गयो । उनले लेखेका छन्, ‘यो हामीले पाएको दुःखको निमित्त कुनै व्यक्ति विशेष जिम्मेवार छैन । यो दुःख कार्ल माक्र्स भन्ने मान्छेले पाएको दुःख होइन । यो व्यवस्थागत यथार्थ हो । मजस्तो यस्तो दुःख पाउने व्यक्ति कति छन् कति । यस्तो यस दुःखको एउटै प्रतिकार छ, हामीले पुँजीवादी व्यवस्थाको विरुद्धको हाम्रो युद्ध झन् चर्काउनुपर्छ ।’
के कारणले हो कुन्नि कार्ल माक्र्सको जिउभरि वेलाबखतमा दुःखदायी पिलो निस्किरहन्थ्यो । ओल्ड टेस्टामेन्टमा बुक अफ जाँब भन्ने एउटा परिच्छेद छ । त्यहाँ जाँव भन्ने एउटा पात्रको कथा आउँछ । त्यो बडो ईश्वरभक्त थियो । कथाका अनुसार उसको शरीरमा पीडादायक पिलो निस्किरहन्थे । यस्तो ईश्वरभक्त मानिसको शरीरमा यस्तो पिलो किन निस्केको होला भनी सोध्दा उसले भन्थ्यो, ‘यो ईश्वरले मेरो परीक्षा लिएको हो ।’ जाँबले कहिल्यै ईश्वरलाई सरापेनन् । हाम्रा पुराणका राजा रन्तिदेव र शिविका यस्तै कथा भेटिन्छ । जाँबको त्यो कथा कार्ल माक्र्स बारम्बार सम्झिन्थे । तर, तत्काल थप्थे मेरो परीक्षा भने ईश्वरले लिएको होइन । यो मेरो घाउ खटिराहरू पुँजीवादी व्यवस्थाको देन हो । एक दिन पुँजीवादले नाकको चालले मेरो प्रत्येक यस्ता खटिराको हिसाब इतिहासलाई बुझाउनेछ । अफसोस इन्साफको त्यो आखिरी दिन अझै टाढा देखिन्छ । कार्ल माक्र्समा आत्मदया थिएन । उनी घमण्डीसमेत भन्न मिल्ने गरी स्वाभिमानी थिए । तर, लन्डनको ती कष्टकर दिनमा उनी बेहाल हुने घडी आइरहन्थ्यो ।
कार्ल माक्र्सको तिनताकाको बसोवासलाई चहार्दै जर्मन सरकारको कुनै एक गुप्तचर उनको घरमा पुगेका थिए । उक्त गुप्तचरले माक्र्सको घरको बेहाल स्थितिको मार्मिक वर्णन गरेको छ । त्यस वर्णनअनुसार माक्र्सको डेरा लन्डनको अत्यन्त सस्तो र फोहोर टोलमा थियो । एउटै पनि कुर्सी वा टेबुल भनेजस्ता थिएनन् । जो थिए, भाँचिएका थिए । केटाकेटीहरू यत्रतत्र छरिएर खेल्थे । केटाकेटीका निमित्त कुनै एउटा बेग्लै कोठा थिएन । माक्र्सको घरमा सफा–सुग्घर थिएन । उनको कोठामा पुस्तक, कागजपत्र बेढंगले राखिएको हुन्थ्यो । मेच र भुइँमा समेत तमाखुका खरानी झरेका हुन्थे । माक्र्स धुम्रपानका अम्मली थिए, घरमा त्यसको फोहोर अवशेष थियो । रहनसहन र खानपिनको यस्तो प्रतिकूल अवस्थामा कार्ल माक्र्स ५० वर्ष नपुग्दै बुढो देखिन थालेका थिए । जेनीको अवस्था पनि त्यस्तै थियो । जेनी बिरामी परिरहन्थिन् । जन्मले उनी एक सम्पन्न घरानाकी छोरी थिइन् । यसो हातमा पैसा आउनासाथ महँगा लुगाफाटा फर्निचर किन्थिन् । तर, त्यो सोख धेरै दिन रहँदैन थियो । अभावको मारमा ती केही दिनअघि किनिएका रहरलाग्दा सामान कि बन्धक राख्नुपर्ने कि अलपत्रमा बेच्नुपर्ने हुन्थ्यो । माक्र्ससँग बिहे भएको दिनदेखि उनी अभावमै बाँचिन् । उनको सौखिन स्वभाव भने कहिल्यै गएन ।
सौभाग्यवश कार्ल माक्र्सको ऐतिहासिक कृति दास क्यापिटल उनी ५० वर्ष पुग्दैमा प्रकाशित भइसकेको थियो । त्यो प्रथम भाग थियो । माक्र्सले पूरा गर्ने भनेको बाँकी भागहरू उनले लेख्न सकेनन् । केही बौद्धिक अन्योल पनि थिए । तर, मुख्यतः पारिवारिक दुःख र व्यक्तिगत स्वास्थ्य पनि जिम्मेवार थियो ।
कार्ल माक्र्सको ऐतिहासिक पुस्तक दास क्यापिटल सन् १८६७ मा प्रथम भाग प्रकाशित भयो । कार्ल माक्र्स यस पुस्तकलाई चाल्र्स डार्विनलाई समर्पित गर्न चाहन्थे । तर, चाल्र्स डार्विनले यस प्रस्तावलाई विनम्रतापूर्वक अस्वीकार गरे रे । अन्ततः माक्र्सले त्यो पुस्तक जर्मनीको सहकर्मी मजदुर नेतालाई समर्पित गरेका छन् । कार्ल माक्र्सको दास क्यापिटलको चरित्रलाई बुझ्ने क्रममा समर्पणको यो प्रसंग अर्थपूर्ण छ । चाल्र्स डार्विनले एक उत्कृष्ट वैज्ञानिकका रूपमा मानव जातिको विकासको खुड्किलो देखाएका थिए । माक्र्सको पुस्ता त्यसबाट चमत्कृत थियो । एंगेल्सले दाबा गरेका छन्, डार्विनले मानव विकासको रहस्य वैज्ञानिक ढंगबाट उद्घाटन गरे, त्यस्तै माक्र्सले समाज विकासको नियम पत्ता लगाए । समाजको विकास भौतिक वा रासायनिक विज्ञानजस्तै नियमबद्व हुँदैन, यो कुरा पनि माक्र्सले भने सम्झाएका पनि हुन् । फ्रेडरिक एंगेल्सले यस प्रश्नमा पृथक् मान्यता राखेको देखिन्छ । एंगेल्सले समाज–विज्ञानलाई यदाकदा प्राकृतिक विज्ञानसरह नै हेर्थे भन्ने कतिपय अध्येताको ठहर छ । माक्र्सकाबारे यो कुरो भन्न सकिँदैन । माक्र्सले आफ्नो मजदुर सहकर्मीलाई यो पुस्तक समर्पण गरेकोबाट पनि मनुष्यको भूमिकाप्रतिको उनको सम्मान प्रस्ट हुन्छ ।
माक्र्स सन् १८४९ मा लन्डन पुगेका हुन् । दास क्यापिटल सन् १८६७ मा छापियो । यी १८ वर्ष उनी लन्डनमै केन्द्रित थिए । प्रारम्भिक दुई–तीन वर्षको राजनीतिक गतिविधिपछि उनी एकाग्र भएर लेखनमा लागेका थिए । कम्युनिस्ट मेनिफेस्टोमा आर्थिक सिद्धान्तको मात्र प्ररम्भिक परिचय छ । सन् १८५९ ‘कन्ट्रिब्युसन टु द पोलिटिकल इकोनोमी’ उनको पुस्तक भने एक प्रौढ रचना छ । यसै पुस्तकको भूमिकामा उनले यसै एक ठाउँमा मात्र अत्यन्त व्यवस्थित ढंगले ऐतिहासिक भौतिकवादको परिचय दिएका छन् । मनुष्यको चेतना परिस्थितिले बनाउँछ । परिस्थिति बनाउनमा उत्पादनका साधनको हात हुन्छ । उत्पादनका साधनको विकासक्रममा मानिसहरू उत्पादनको सम्बन्धमा जेलिन्छन् । त्यो यथार्थलाई नबुझ्दासम्म मानव–इतिहासलाई बुझ्न सकिँदैन । कार्ल माक्र्सले त्यही लेख्छन्— आजभन्दा अघि बुद्धिजीवी शीर्षासन गरेर दुनियाँलाई हेरेका थिए, मैले पयरमा उभिएर दुनियाँ हेरेको छु ।
दास क्यापिटलमा उनले पुँजीवादी व्यवस्थाको सम्पूर्ण संरचना, त्यसका अंग–प्रत्यंगलाई केलाएर एक ठाउँमा राखे । ‘दास क्यापिटल’को मुख्य विषय अर्थशास्त्र हो । तर, यो अर्थशास्त्रको मात्र किताब होइन । यसमा इतिहास, दर्शन, समाजशास्त्र र कानुनको संश्लिष्ट रूपमा व्याख्या गरिएको छ । पुस्तकमा हिगेलको दार्शनिक अन्तर्धारा आद्योपान्त पाइन्छ । मजदुरको उत्पादनशील क्षमताको सिद्धान्त बेलायतको शास्त्रीय अर्थशास्त्रबाट प्रेरित छ । सरल रूपमा भन्दा यति हो, मजदुरले स्वाभाविक रूपमा आर्जेको उसको श्रमशक्तिमा आधारित नाफा पुँजीपतिले हड्पिन्छन् भन्ने देखाइएको छ । यो तथ्यले ऐतिहासिक एवम् गणितीय हिसाबले यस पुस्तकमा केन्द्रीय स्थान पाएको छ ।
आडम स्मिथ र रिकार्डोले मूल्यको सिद्धान्त निर्धारण गर्ने क्रममा भनेका थिए, श्रमशक्ति नै उत्पादनको स्रोत हो । समाजमा प्रचलित रहेको सामाजिक श्रमको सन्दर्भमा त्यो श्रमशक्तिको लेखाजोखा हुने हो । बजारमा उत्पादनका साधन निर्बाध प्रतिस्पर्धामा रहँदासम्म दीर्घकालीन दृष्टिले उत्पादनको कुनै पनि साधन अन्यायमा पर्दैन । श्रमले पनि आफ्नो भाग पाउँछ । यसबीच डेविड रिकार्डोले एउटा कुरा थपे । डेविड रिकार्डो र एडम स्मिथ दुवै आधारभूत रूपमा बाजारको निर्बाध प्रतिस्पर्धामा विश्वास राख्थे । तर, भूमिलाई लिएर रिकार्डोका पृथक विचार थिए । डेबिड रिकार्डोका अनुसार भूमिले उत्पादनमा योगदान गरेका कारण पुरष्कृत हुने होइन । भूमि अनुत्पादक हुने हुँदा उसलाई पुरष्कृत गरिन्छ भन्ने तर्क अगाडि सारे । कार्ल माक्र्सले यसै तर्कलाई थोरै मोड्नुपर्यो । यस तर्कका आधारमा पुँजीलाई अनुत्पादक भन्न धेरै पर जान परेन । रिकार्डोको यस तर्कलाई अँठ्याएर माक्र्सले ‘श्रमको अतिरिक्त मूल्यको सिद्धान्त’ प्रतिपादन गरे । मजदुरले आपूmले जो गरेको श्रमको उत्पादनको प्रतिफल सम्पूर्ण रूपमा कहिल्यै हासिल गर्दैन । श्रमको न्यायोचित प्राप्यबाट पुँजी र भूमिले पहिले आफ्ना भाग लिन्छ । श्रमले एक्लै उब्जाएको मूल्य भूमि र पुँजीले चोर्छन् । श्रम सधैँ शोषित र वञ्चित रहन्छ । यस शोषणलाई ढाकछोप गर्न पुँजीवादी व्यवस्थाले ठूलो तामझाम गर्छ । राज्य र साम्राज्य यस्तै लुटका निमित्त खडा गरिएका संस्था हुन् । राज्य अरू केही पनि होइन, शासकको वर्गीय हितको रक्षा गर्ने एउटा हिंसाप्रधान निकाय मात्र हो । राज्य मात्र होइन, संसारमा धर्म, संस्कृति, नैतिकताका नाममा प्रचलित यावत् मान्यता यही अतिरिक्त मूल्यको चोरीको ढाकछोपका निमित्त खडा गरिएका प्रपञ्च मात्र हुन् ।
कार्ल माक्र्सले पुँजीवादको अनिवार्य विनाशको भविष्यवाणी गरेका छन् । पुँजीवाद शोषणप्रधान हो, यसैले अनैतिक हो । त्यसैले त्यसको पतन आवश्यक र अनिवार्य छ भनेर माक्र्सले भनेनन् । कार्ल माक्र्सले भावुक र नैतिक आह्वानबाट तर्किए । इतिहास आफ्नो बाटोमा अगाडि हिँड्छ । पुँजीवादको पतन अनिवार्य छ । तर, अनैतिक (?) व्यवहारले त्यो पतन हुने होइन । अनैतिक लुटबाट प्रारम्भिक पुँजी सञ्चय हुन सकेको हो । त्यस्तो पुँजी सञ्चयको अनुपस्थितिमा पुँजीवादको उदय हुने थिएन । पुँजीवादको पतन शोषणका कारण हुने होइन, अर्कै कारणले हुने हो । मनुष्य जाति र जनावरमा धेरै किसिमको फरक छ । तर, मुख्य फरक के हो भने मानिस गाँस, बास र कपास आफ्नै श्रमको आधारमा जोहो गर्छ । उसले सामाजिक रूपमा यस्तो श्रम गर्छ । यस्तै सामाजिक श्रमको कारणले नै मानिस, मानिस बनेको हो ।
उत्पादनको साधन र उत्पादनको शक्तिको द्वन्द्व इतिहासको चालक शक्ति हो । मानिसले उत्पादनको साधनको सहायताले सामाजिक रूपमा उत्पादनको जगेर्ना गर्दछ । तर, उत्पादनपछि हुने वितरण र विनिमयमा मानिस व्यक्तिगत आधारमा गर्छ । यो एउटा बेमेलको स्थिति हो । उत्पादनको साधन विकासशील हुन्छन् । तर, उत्पादनको साधनको विकास र विस्तारको सँँगसँँगै मजदुर वर्गले भने आफ्नो प्राप्यको दाबा गर्न सक्दैन । अन्तमा मजदुरवर्गको विद्रोहबाट पुँजीवाद समाप्त हुन्छ ।
स्मरणीय छ पुँजीवादको अनिवार्य पतनको कुरा गर्दा माक्र्सले नैतिक भाषाको कतै प्रयोग गरेका छैनन् । उनका अनुसार उत्पादनको साधन र शक्तिको द्वन्द्वबाट पुँजीवादको पतन हुने हो । यहाँनेर कार्ल माक्र्समा हिगेलको द्वन्द्ववाद भेटिन्छ । माक्र्सले त्यसै द्वन्द्ववादका आधारमा पुँजीवादको अनिवार्य अन्त हुने घोषणा गरे । उनी श्रमजीवी वर्गको पक्षधर अवश्य थिए । तर, यस वर्गको पृष्ठपोषण गर्दा माक्र्सले बुद्ध वा इसाको जस्तो करुणा र प्रेमलाई आधार बनाएनन् । यसैमा उनको वैज्ञानिक आग्रह निहित छ । इतिहासमा उपदेश, आदर्श र विचारधाराभन्दा कता–कता ज्यादा उत्पादनका औजारहरूको आविष्कारको प्रभाव पर्छ । हलो, कोदालो, बन्चरो र खुर्पा–खुर्दीले कृषि जीवन सम्भव बनाउँछ । अनि मात्र मानिस कुनै गौतम बुद्ध वा इसामसिहको आविर्भाव हुन्छ । मानव–चेतनाले परिस्थिति बनाउँदैन । परिस्थितिले मानव–चेतना बनाउँछ ।
पुँजीवादको विकासक्रममा राज्य झन्झन् बलियो हुँदै जान्छ । उत्पादनको अभिवृद्धिका साथ समाज झन्झन् भोगमुखी भएको थियो । यस्तो अवस्थामा पुँजीवादी उत्पादनको प्रविधिले मनुष्यको सौन्दर्यबोध र कलात्मक प्रवृत्तिसमेत घाइते भएको थियो । पुँजीवादले यावत् मानवीय प्रवृत्तिको विनाश गरेको थियो । पुँजीवादले मनुष्यता नष्ट गर्छ भन्ने कुरामा माक्र्स पनि सहमत थिए । तर, पुँजीवाद तुलनात्मक दृष्टिले अग्रगामी व्यवस्था छ भन्नेबारेमा माक्र्स ढुक्क थिए । ठीक त्यस्तै आजको मितिमा नै राज्य चाहिँदैन भन्ने कुरा माक्र्सका निमित्त एक खतरनाक विचार थियो । आजको राज्य त इतिहासको यस चरणको एक अनिवार्य उत्पत्ति हो । यो राज्य चाहिँदैन भन्ने एउटा गैरजिम्मेवार कुरा मात्रै हो भन्ने माक्र्सको ठहर थियो । स्वयं कार्ल माक्र्सले राज्य एक दिन लोप हुनेछ भनेर भनेका छन् । हो, राज्य एक दिन अवश्य लोप हुनेछ । तर, त्यसअघि राज्यले विकासका केही अनिवार्य खुड्किला उक्लिनुपर्ने छ । राज्य कसैले चाहेर उत्पत्ति भएको होइन । राज्य कसैले चाहँदैमा लोप हुने पनि होइन । उत्पादकत्व र वितरणको द्वन्द्व निर्मूल भएपछि मात्र राज्य लोप हुन्छ । अनिवार्य लोप हुनुअघि राज्य झन् कठोर र केन्द्रीकृत हुनुपर्ने छ ।
कठोर राज्यको सिद्धान्तको व्यख्याको क्रममा सर्वहाराको अधिनायकत्व भन्ने माक्र्सले एउटा थप मान्यता प्रतिपादन गरे । कालान्तरमा यस मान्यताले समाजवादी आन्दोलनको इतिहासमा ठूलो विवाद सृष्टि गर्यो । लेनिनले यस सिद्धान्तलाई माक्र्सवादको केन्द्रीय शिक्षाको रूपमा स्थापित गर्न खोजे । कार्ल माक्र्सको सर्वहारावर्गको अधिनायकत्व एक समस्यामूलक अवधारणा छ । कार्ल माक्र्सले यस विषयलाई यथोचित व्याख्या गरेको भेटिँदैन । यस अवधारणालाई धेरै खेप प्रयोगसमेत गरेका छैनन् । कार्ल काउत्स्कीले यो अवधारणालाई मुस्किलले दुई या तीनपटक खास सन्दर्भमा मात्र माक्र्सले प्रयोग गरेका हुन् भनेका थिए । लेनिनले यसको मुखभरिको जवाफ दिए । कार्ल माक्र्सको सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त एक विवादास्पद अवधारणा हो । कार्ल माक्र्सले सबै किसिमका राज्यलाई अल्पतन्त्रको शासनका रूपमा हेर्थे । पुँजीवादी राज्य एक प्रकारको अल्पतन्त्र वा तानाशाही हो । त्यसो हुँदा पुँजीवादको उन्मूलनपछि आउने सर्वहाराको अधिनायकत्व पनि अल्पतन्त्र वा तानाशाही नै हुन्छ । यत्ति हो, सर्वहाराको तानाशाही पुँजीपतिको तानाशाहीभन्दा ज्यादा फराकिलो र उदार हुन्छ । कार्ल माक्र्सको सिद्धान्तमा यस अवधारणाले सबभन्दा ठूलो झगडा गरायो । लेनिनले सर्वहारावर्गको तानाशाहीलाई माक्र्सको सिद्धान्तको केन्द्रीय तत्वको रूपमा लिए । तर, काउत्स्की, वर्नस्टिन र प्लेखानोवले यस सिद्धान्तको परिहास गरे ।
सर्वहारा वर्गको अधिनायकत्वको विवादको स्पष्टीकरणको क्रममा सन् १८७१ मा फ्रान्समा भएको ‘जन–विद्रोह’को ठूलो महत्व छ । इतिहासमा यो घटना पेरिस कम्युनको नामले जानिन्छ । लन्डन पुगेपछिका कार्ल माक्र्सको प्रत्यक्ष गतिविधि लेखन र प्रकाशनमा केन्द्रित थियो । यति भएर पनि उनको मन र मस्तिष्क भने सधैँ विद्रोह र क्रान्तिको सपनामा रुमल्लिरहन्थ्यो । लन्डनमा रहँदा पनि उनको मातृभूमि जर्मनी नै उनको राजनीतिक प्राथमिकताको विषय थियो । जर्मनीका मजदुरहरूको राजनीतिक पार्टीलाई उनी आफ्नो पार्टी मान्दथे । त्यस पार्टीको स्थापना र विकासमा समेत माक्र्स र एंगेल्स दुवै नै प्रत्यक्ष रूपमा संलग्न रहेका थिए । प्रिन्स बिस्मार्कको उदयपछि फ्रान्स र जर्मनीबीचको युद्ध हुने परिस्थितिको निर्माण भयो । बिस्मार्कको मुख्य एजेन्डा जर्मनीको राष्ट्रिय एकीकरण थियो । जर्मनीमा प्रशाको बलियो राज्यबाहेक सबै भुरेटाकुरे रजौटाको स्वायत्त शासन थियो । फ्रान्स र अस्ट्रियाले त्यस स्थितिमा झगडा गराएर फाइदा उठाएका थिए । बिस्मार्कले यी दुवै छिमेकीसँग एक दिन युद्ध गर्नैपर्छ भन्ने सोचका थिए । यसको तयारी गर्दै पनि आएका थिए । जर्मनीले मौकामा कूटनीति र सैन्य शक्तिको राम्रो प्रयोग गर्यो । फ्रान्समा लुई नेपोलियनको शासन थियो । लुई नेपोलियन योग्य शासक वा सेनापति दुवै थिएनन्, उनी हारे । उनको हारका साथ जर्मन सेना फ्रान्समा कब्जा गर्न सफल भयो । फ्रान्समा नयाँ सरकार बन्यो । त्यस उत्तराधिकारी सरकारले साधारण नागरिकलाई सुरक्षासमेत दिन सकेन । जर्मनी नाकाबन्दीमा परेका पेरिसका नागरिकले जीवन निर्वाहका सामान्य सरजाम पनि भेटेनन् । आखिर त्यहाँ रहेका उत्पीडित मजदुर र निम्नमध्यमवर्गीय जनता आफैँ हतियार उठाउन बाध्य भए । यस्तो निम्नवर्गीय विद्रोह देखेर पेरिसको अन्तरिम सरकार तिनीहरूलाई सहयोग गर्नुको साटो उल्टो भागेर नजिकको अर्को सुरक्षित सहर भर्साएमा गएर लुक्यो । पेरिसमा त्यहाँका आमजनताले आफ्नो रक्षा आफैँ गर्ने स्थिति आयो । उनीहरूले स्वशासन स्थापित गरे । उनीहरूले यसलाई कम्युन भने । यो एउटा अद्भूत प्रयोग थियो ।
प्रथम अन्तर्राष्ट्रिय तिनताका जीवित नै थियो । कार्ल माक्र्सले प्रथम अन्तर्राष्ट्रियको बैठक बोलाए । त्यस संस्थाबाट पेरिस विद्रोहको ठूलो प्रशंसा गरे । पेरिस कम्युनका विद्रोहीहरूको प्रत्येक क्रियाकलापको उनले समर्थन गरे । खास कम्युनमा उनका समर्थक अत्यन्त थोरै थिए । त्यहाँ प्रुदो र ब्लांङ्कीको बहुमत थियो । यस घटनाको स्मृतिमा एंगेल्सले २० वर्षपछि यसको पुनः मूल्यांकन गरेर एउटा विश्लेषण गरे । त्यसै आलेखमा पनि उनले सर्वहारावर्गको अधिनायकत्व भनेको पेरिस कम्युन नै हो भनेर ठोकेर भने । तर, पेरिस कम्युनले गरेको गल्तीको आलोचना पनि गरे । त्यहाँ ‘हाम्रो पक्ष’को नेतृत्व नभएकाले त्यो गल्ती भएको हो भन्ने उनको ठहर छ ।
पेरिस कम्युनकोे पृष्ठभूमि र विकासक्रमबारे इतिहासकारबीच मतैक्य छैन । पेरिस कम्युनमा जो भएको रक्तपात नेपोलियन तृतीय भागेपछि भएको हो । त्यो लडाइँ राजा र प्रजाका बीचमा भएको थिएन । फ्रान्सका उपल्लो वर्ग र निम्नवर्गीय लडाकुबीच रक्तपात भएको थियो । माक्र्सका अनुसारमा यो एक खुला र घोषित गृहयुद्ध थियो । पेरिस कम्युनका घटनाक्रममा उनले वर्गसंघर्षको सिद्धान्त चरितार्थ भएको देखे । फ्रेडरिक एंगेल्सले पेरिस कम्युनलाई सर्वहारावर्गको अधिनायकत्वको एक उदाहरण भनेर २० वर्षपछिसमेत दोहो¥याएकाले यो घटना राजनीतिक इतिहासमा एउटा किंवदन्ती झैँ अगाडि बढेको छ । लेनिनले रुसमा सोभियत शासकको परिकल्पना गर्दा यस दृष्टान्तबाट प्रेरणा लिएको दाबी गरेका छन् । कार्ल काउत्स्कीसँगको उनको विवादमा एंगेल्सको त्यो कथन बारम्बार उद्धृत गरिएको थियो । पछि माओ त्से तुङले चीनमा सांस्कृतिक क्रान्तिको आह्वान गरे । उनले पनि पेरिस कम्युनबाट प्रेरणा लिएको कुराको उदाहरण दोहोर्याए ।
पेरिस कम्युन आमजनताको स्वशासनको एक अपूर्व घटना थियो । त्यस परिघटनाको पृष्ठभूमिमा कुनै रणनीति, योजना वा कार्यक्रम भने थिएन । त्यो एक स्वतस्फुर्त घटना थियो । फ्रान्स र जर्मनीको युद्धको पृष्ठभूमिमा उत्पन्न भएको एउटा खास मौका थियो । जर्मनी र फ्रान्सको तत्कालीन शासकवर्गको सुसंगठित सेनाको प्रत्याक्रमणको दरमियान कम्युनका लडाकुहरूले क्रूरताको निन्दनीय उदाहरण पेस गरेका थिए । तत्कालका लागि कार्ल माक्र्सले उनीहरूको यस्तो क्रियाकलापको पनि पृष्ठपोषण गरेका थिए । पछि बरु माक्र्सले पेरिस कम्युनको महŒवबारे आफ्ना पत्रहरूमा त्यसको परिहास गरेको भेटिएको छ । उनले आत्मालोचना गरेका छन् ।
प्रत्येक थरीका समाजवादीहरूका निमित्त पनि पेरिस कम्युन निश्चय गवेषणाको विषय छ । समाजवादी आन्दोलनको कुनै पनि धाराले अहिलेसम्म भावी राज्य र स्वरूपको रूपरेखा पेस गर्न सकेको छैन । गम्भीर अध्येताले कार्ल माक्र्सको राजनीतिक चिन्तन परिपक्व छैन भनेर टिप्पणी गरेका छन् । विश्व सतत परिवर्तनशील छ । त्यस्ता वेलामा भोलिको समाजको चित्र यो पो हो भन्न साँच्चै अव्यावहारिक हुनेछ । तर, हिजो भइसकेका घटनाक्रमको मूल्यांकन गर्नु शिक्षाप्रद हुनेछ । ठीक त्यस्तै हाम्रा आदर्श निर्गुण र अमूर्त भए पनि देश, काल र परिस्थितिमा उस्तै रहन्छन् । यस्ता आदर्श र नारालाई चरितार्थ गर्नु नै लोकतान्त्रिक समाजवाद हो भनेर सबैले विवाद गर्न सक्दैन । तर, यस्ता आदर्शलाई कसरी चरितार्थ गर्ने यो केन्द्रीय समस्या हो । त्यस क्रममा कार्ल माक्र्सको पेरिस कम्युनको उत्साह विचारणीय छ । लेनिनले राज्य सत्ता र क्रान्तिमा मूलतः स्वशासनको कुरानै झिकेका छन् । गान्धीको ‘ग्रामस्वराज’को कुरा भारत र नेपालमा विमर्शमा छ । ग्रामस्वराज स्वशासनको प्रयोगको प्रस्ताव हो । यति हो गान्धीको ग्रामस्वराज भने व्यक्तिको स्वराजबाट सुरु हुन्छ । व्यक्ति विशेषले पहिले आफ्ना उपर शासन गर्न सक्नुपर्छ । स्वराज शब्दको व्युत्पत्ति नै त्यसरी भएको छ । गान्धीको ग्राम स्वराजको आधार व्यक्तिको स्वराज हो । यस दृष्टिले गान्धीको आधार मूलतः आध्यात्मिक छ । मानिसका जीवनमा ज्यादा लोभ–लालच, ईष्र्या, द्वेष, हिंसा–प्रतिहिंसा रहँदासम्म आदर्श समाज बन्दैन भन्ने गान्धीको ठहर थियो । भौतिक विपुलता भएपछि मानिसको स्वभाव स्वतः फेरिन्छ भन्ने कुरामा गान्धीलाई भरोसा थिएन । गान्धी मानिसको आध्यात्मिक र नैतिक विकासलाई नै उसको आत्मान्वेषणको अनिवार्य प्रक्रियाको रूपमा लिन्थे । माक्र्स भने भौतिक उपलब्धि हुनासाथ मानिसका मानसिक र नैतिक समस्या स्वतः हल हुन्छ भन्ने मान्यता राखेका देखिन्छन् । कदाचित यी दुवै दृष्टिकोण एक–अर्काका पूरक हुन् । तर, त्यो कुरा पनि अहिले कसरी भन्ने ? त्यसका निमित्त हामीले भोलिको ऐतिहासिक अनुभवलाई नै पर्खनुपर्छ ।
यहाँ एउटा कुरो हेक्का राख्दा राम्रो हुनेछ । कार्ल माक्र्स लन्डन पुग्नुअघि नै उनले विभिन्न विषयमा खेस्राको रूपमा हजारौँ पृष्ठ लेखेका रहेछन् । उनको देहान्तपछि पनि त्यो खेस्रा कागजको संकलन, सम्पादन र प्रकाशनमा धेरै समय लाग्यो । सोभियत युनियनको स्थापनापछि त्यहाँको सत्तारुढ कम्युनिस्ट पार्टीले माक्र्स र एंगेल्सको देवत्वकरण ग¥यो । उनको रचनाहरूले बाइबिल र कुरानको स्थान लिए । माक्र्सवाद रुसको राजधर्म बन्न पुग्यो । लेनिनको प्रेरणाले माक्र्स र एंगेल्सका यावत् लेख, रचना चिठीपत्र खोजिन थाले । पछि ती छापिए । माक्र्सका ती प्रारम्भिक रचना ‘दि होली फेमिली’, ‘दि जर्मन आइडियोलोजी’ र ‘इकोनोमिक एन्ड फिलोसफिकल म्यानुस्कृप्ट’का नामले हाल उपलब्ध छन् । यी पुस्तक कार्ल माक्र्सले हेगेललगायत अन्य आदर्शवादी दार्शनिकको प्रभावमा लेखेका छन् । ती पुस्तकमा माक्र्सको स्वर साँच्चै नै पृथक छ । ती पुस्तकमा मानिसको चेतनाका उपर विशद चिन्तन गरिएको छ । यी रचनामा माक्र्सको ‘आत्मनिर्वासन’को अवधारणा पाइन्छ । आत्मनिर्वासनको यो अवधारणामा गान्धीको आत्मन्वेषणको झझल्को देखिन्छ । अध्येताले माक्र्सका यी प्रारम्भिक रचनालाई पछिको भौतिकवादसँग तुलना गरेका छन् । यस्तो तुलनात्मक आलोकमा माक्र्सको नवमूल्यांकन भएको छ ।
कार्ल माक्र्स लन्डन पुगेको दिनदेखि लेख्न–पढ्न भने लगातार तल्लीन रहे । प्रारम्भमा लेख्नु उनको मजबुरी पनि थियो । जीविकाको वैकल्पिक बाटो थिएन । माक्र्सका त्यस्ता जीविकाजन्य लेखन पनि बडो महत्वपूर्ण छन् । विभिन्न पत्रपत्रिकामा लेखिएका विभिन्न लेखको संकलन विश्लेषणले आज पनि पाठकलाई विस्मित पार्दछ । लुई नेपोलियनको १८औँ ब्रुमेयर पनि तिनताका नै लेखिएको एउटा अनुपम कृति भएको छ । तत्कालीन फ्रान्सको राजनीतिक उथल–पुथल चिरफार गर्ने क्रममा यो पुस्तिका लेखिएको थियो । आज यो एक शास्त्रीय ग्रन्थ हुन पुगेको छ ।
लेखनलाई मुख्य कामको रूपमा गर्दागर्दै पनि कार्ल माक्र्स सक्रिय राजनीतिबाट सजग थिए । प्रथम अन्तर्राष्ट्रियको गठन एउटा त्यस्तै कार्य थियो । प्रथम अन्तर्राष्ट्रिय समाजवादी संगठन सन् १८६४ मा स्थापित भएको थियो । माक्र्सले त्यसको गठनमा प्रमुख भूमिका खेलेका थिए । प्रथम अन्तर्राष्ट्रिय धेरै लामो समयसम्म दीर्घायु हुन सकेन । गठन भएको १० वर्ष नपुग्दै त्यस संस्थाको मृत्यु भयो । मुख्यतः कार्ल माक्र्स र बाकुनिनको झगडाले गर्दा यस संगठनको अकाल मृत्यु भएको थियो । प्रथम अन्तर्राष्ट्रियको सदस्यता सबै क्रान्तिकारीका निमित्त खुला थियो । अराजकतावादीले पनि यसमा प्रवेश पाएका थिए । बाकुनिन अराजकतावादीका मुख्य नेता थिए । तिनताकाको युरोपमा विशेष गरेर रुस र स्पेनमा बाकुनिनको ठूलो प्रभाव थियो । प्रारम्भमा माक्र्स र बाकुनिनमा मित्रता थियो । युवावर्ग र मजदुरवर्गमाथि वाकुनिनको प्रभावलाई राम्रै मानेर माक्र्सले उनीसँग मित्रता बढाएका थिए । पछि हुँदै जाँदा माक्र्स बाकुनिनसँग टाढिँदै गए । बाकुनिनका विचार विशृंखल र अराजकतावादी थिए । एक त उनी राज्य नामक संस्थामा विश्वास नगर्ने, दोस्रो व्यक्तिहिंसालाई मान्यता दिने धारणा राख्थे थिए । तदानुरूप बाकुनिन षड्यन्त्रमूलक संगठन गर्दै हिँड्थे । त्यसमा कटिबद्ध थिए । प्रारम्भिक चरणमा माक्र्स पनि यस्ता गतिविधिप्रति किञ्चित आकृष्ट थिए । पछि गएर माक्र्सले यस्ता क्रियाकलापलाई पूर्णतः हानिकारक ठान्न थालेका थिए । सुरुमा माक्र्सले बाकुनिनलाई आफ्ना विचारमा ल्याउने प्रयास गरे । तर, दुवैको स्वभावमा आकाश–पातालको फरक थियो । प्रथम अन्तर्राष्ट्रियमा दुवैसँगै सम्मिलित भए । यो टिक्न सक्ने सम्बन्ध थिएन । पहिले माक्र्सले बाकुनिनलाई प्रथम अन्तर्राष्ट्रियबाट निष्कासन गर्ने कोसिस गरे । तर, एक त उनीसँग बाकुनिनका विरुद्धमा कुनै ठोस आरोपयुक्त प्रमाण थिएन । दोस्रो बाकुनिन स्वयंको त्यस संगठनमा दरो पकड थियो । त्यसैले बाकुनिनको निष्कासनको निम्ति माक्र्स स्वयंले नै एउटा षड्यन्त्र गर्नुपर्यो । आखिर माक्र्स सफल भए । बाकुनिन निष्कासित भए । बाकुनिनजस्ता प्राणीका बारेमा माक्र्सको स्पष्ट धारणा थियो । यी प्राणी भावनात्मक दृष्टिले राम्रा भए पनि क्रान्तिको दृष्टिले खतरनाक हुन्छन् । उनीहरूले मजदुरलाई प्रभावित गर्नु भनेको तिनलाई बिगार्नु हो । त्यस्तालाई यस्तो गर्न दिनु हुँदैन । तसर्थ यिनीहरूलाई हरेक दृष्टिले नांगेझार पार्नु आवश्यक छ । यिनीहरूले जनतालाई केही सिकाउनुअघि नै हामीले जनतालाई यिनीहरूको विरुद्ध शिक्षित गरिसक्नुपर्छ । त्यस्तो कडा विचार राख्ने माक्र्सले बाकुनिनबाहेक उनका अनुयायीसमेतलाई प्रभावित बनाउने रामवाण प्रयोग गरे । उनले प्रथम अन्तर्राष्ट्रियको हेडक्वाटर अमेरिकामा सारे । अमेरिका सारिएको यो अन्तर्राष्ट्रिय संगठन त्यहाँँ ओइलाउँदै गयो र अन्तत विस्मृतिको गर्भमा बिलीन हुन पुग्यो । तर, यसै संगठनको निरन्तरतामा सन् १८८९ मा फ्रेडिक एंगेल्सको प्रयत्न प्रेरणा र संलग्नताबाट द्वितीय अन्तर्राष्ट्रियको जन्म भयो ।
फर्डिन्यान्ड लासाल कार्ल माक्र्सले मन नपराउने अर्का मानिस थिए । लासाल मान्छे भने गजबका थिए । लासाल जर्मन नै थिए । हेर्दा खाइलाग्दा यी जोसिला युवक विचारमा बढी चासो राख्दैनथे । उनको जो विचार थियो, टापटिपे खालको थियो । तर, उनी बेजोड संगठक थिए । जर्मनीमा यिनैले पहिलो सोसलिस्ट पार्टी बनाए । उनी आफ्ना तर्फबाट माक्र्सलाई राम्रो मान्दथे । सम्मान पनि गर्थे । लन्डन आउँदा माक्र्स कहाँ बस्न–खानसमेत गर्थे । माक्र्सले उनीसित वेलाबखत पैसा पनि पैंचो दिन्थे । तर, माक्र्सले त्यस्तो पैंचो फर्काएको देखिँदैन । तर, माक्र्स लासालको स्वभाव र फाइँफुइँदेखि दिक्क थिए । लासाल जर्मनीमा निक्कै प्रभावशाली हुँदै गएका थिए । संयोगवश लासालको एउटा विचित्रको परिस्थितिमा अकाल मृत्यु भयो । उनी द्वन्द्व युद्धमा मरे । तर, लासालको पार्टी भने जीवित रह्यो । जर्मनीको मजदुर आन्दोलनमा विलियम लिबनेथ र अगस्ट बेबेल प्रमुख थिए । माक्र्सका अनुयायी थिए । उनीहरूले बेग्लै मजदुर पार्टी बनाएका थिए । पछि यी दुईको नेतृत्वमा रहेको मजदुर पार्टी र लासालको पार्टीको जर्मनीको गोथा भन्ने ठाउँमा एकीकरण भयो । त्यही एकीकरणमा स्वीकृत गरिएको प्रस्तावको माक्र्सले ठूलो विरोध गरे । विरोध गरिएको त्यो सानो दस्ताबेज ‘कृटिक अफ गोथा प्रोगाम’को नामले विख्यात छ । माक्र्सले भावी समाजको चित्रण गरेको यो एक मात्र कृति हो । यो रचना मुस्किलले दुई–तीन पेजको एउटा सानो आलेख छ । माक्र्सका अनुसार क्रान्तिपछि पहिलो चरणमा समाजवाद मात्र हुन्छ । समाजवादी चरणमा प्रत्येकले योग्यता र योगदानअनुसार काम गर्नेछन् । त्यहाँ राज्य रहन्छ । राज्यले उत्पादन र वितरणको व्यवस्था गर्र्नैपर्छ । व्यक्तिले उसको श्रमको उचित प्रतिफल उसले पाउँछ । पुँजीवादी समाजले श्रमजीवीलाई न्यायोचित प्रतिफल दिँदैन । समाजवादमा त्यो दिइनेछ । समाजवादमा परजीवीवर्ग यथा ब्याज र कुतमा टिकेको वर्ग निर्मूल हुँदै जानेछन् । तर, त्यहाँ पनि श्रम विभाजन रहन्छ । साम्यवाद आएपछि मात्र यो सब समाप्त हुनेछ । साम्यवादमा श्रम विभाजनको बाध्यता रहनेछैन । मानिसमा अन्तर्निहित यावत् सम्भावना फक्रनेछन् । उसले आफू खुसी काम मात्र गर्नेछ । काम र परिश्रम बोझ नरहेर सिर्जना र आनन्दको माध्यम हुनेछ । माक्र्सको शब्दमा भन्ने हो भने एउटै मानिस बिहान बगैँचा गोड्छ, दिउँसो माछा मार्ला, साँझ बच्चा पढाउला, पछि राति नाटक वा सिनेमा हेर्न सक्छ । मानिसको आवश्यकताको वस्तुको प्रचुर रूपमा उत्पादन हुनेछ । मानिसले त्यसका लागि लोभ–लालच झैंझगडा गर्नुपर्ने छैन । राज्य लोप हुन्छ । यो वर्णन कार्ल माक्र्सको राम राज्य हो ।
Source: enayapatrika.com
Comments
Post a Comment